फस्टाउँदो चन्दा आतंक

मुरारि शर्मा/भगीरथ बस्नेत

केही दिन अगाडिको मात्र कुरा हो, एउटा ठूलो राजनीतिक दलको भ्रातृ संगठनका कार्यकर्ताले निर्वाचन आचारसंहिता लागु भएपछि सोको प्रावधानविरुद्ध जबर्जस्ती चन्दा आतंक मच्चाए । पुलिसले उनीहरूलाई पक्राउ गरे । जो चोर उसैको ठूलो स्वर भनेजस्तो सो भ्रातृ संगठनले चितवन बन्द गर्‍यो ।

हालै एकजना व्यापारीले चन्दा आतंकबारे आफ्नो गुनासो पोखे । आफूलाई एउटा दल विशेषका कार्यकर्ता हुँ भनी  दाबी गर्ने दुईजना चन्दा माग्न आए र चन्दा नदिएमा जे पनि हुनसक्ने धम्की दिएर गए । यस अगाडि सन् २००५ तिर पनि यसैगरी १ लाख रुपैयाँ चन्दा माग्न आएका थिए । उनले चन्दा दिन आनाकानी गरेपछि चन्दा माग्नेले तपाईं बाहिर निस्कँंदा तपाईंको २ वर्षको छोरालाई राम्रोसँग आलिंगन गरी निस्कनु होला, के थाहा भरे तपाईं र छोरामध्ये एक नहुन सक्छ भनी त्रास देखाए । विवश भई ऋण काढेरै भए पनि मागे बमोजिमको चन्दा दिनुपर्‍यो । अहिले भाषा अलिक कम धम्कीपूर्ण भए पनि सार उस्तै त्रासपूर्ण छ, व्यापारीले भने ।

करिब ३/४ महिना अगाडिको मात्र कुरा हो, एकजना वरिष्ठ नेता काठमाडौंको -क) वर्गको बैंकका मुख्य कार्यकारी अधिकृतसँग भेट्न गएछन् । संयोगवश उक्त अधिकृत बंैकको बोर्ड मिटिङमा रहेछन् । कर्मचारीले सो कुरा बताएपछि नेताले मुख्य कार्यकारी अधिकृतलाई म तपाईंको कार्यालयमा छु भेट्न जरुरी छ, आफ्नो कोठामा आउनु होला भनी एसएमएसमार्फत सन्देश पठाएछन् । केही समय बस्दा पनि मुख्य कार्यकारी अधिकृत नआएपछि नेताले तपाईंको रवैया खेदपूर्ण भयो, मैले तपाईंको अफिसमा आउँदा भेट्न पाइन. मेरो दललाई आर्थिक सहयोग गर्नु भन्ने व्यहोराको धम्कीपूर्ण पत्र छोडेर गएछन् । यो खबर पाएपछि ती मुख्य कार्यकारी अधिकृतले अरु बैंकहरूसँग मिलेर चन्दा आतंकविरुद्ध एक भई डट्न आह्वान गरेछन् । फलस्वरुप बैंकहरूमा केही हदसम्म चन्दा आतंक घटेको चर्चामा आयो ।

हालै एउटा निज्ाी कलेजका प्राचार्यले चन्दा आतंकले कलेज चलाउन गाह्रो भएको गुनासो गरे । उनका अनुसार चन्दा माग्नेहरू अनेक समूहमा पटक-पटक आउँंछन् र लाखौं रुपैयांँको सहयोग माग्छन् । त्यत्रो सहयोग गर्न नसक्ने बताएपछि चन्दा माग्नेहरू कलेजमा तोडफोड भयो भने हामीलाई दोष नदिनु होला भनी धम्क्याएर जान्छन् । नाम चलेका र धेरै विद्यार्थी भएका महंँगा विद्यालयबाट अति ठूलो धनराशि चन्दा मागिन्छ । स्कुल, कलेज व्यवस्थापनकर्ताका अनुसार लाचार भएर उनी चन्दा दिन बाध्य भएका छन् ।

चुनावको घोषणापछि चुनावका लागि घर-घरमा पनि चन्दा माग्न आउनेको संख्या बढ्दैछ । त्यसैगरी चुनावका विरोधमा लाग्ने पनि चुनाव रोक्न चन्दा मागिहिँंडेका छन् । चुनाव हुनसके पनि नसके पनि यो क्रम जारी रहन्छ । चन्दा माग्न आएपछि जति दियो, त्यति लिएर गए आफ्नो शक्ति र इच्छाअनुसार सबैले धेरै-थोरै सहयोग गर्थे, तर ठूलो रकम माग्ने र नदिएमा कठोर परिणामको भागिदार बन्नुपर्ने धम्कीले अबका दिनहरूमा सर्वसाधारणको जिन्दगी अझ दुरुह हुने स्पष्ट छ ।

राजनीतिक दल सञ्चालन गर्न र चुनाव लड्न चन्दा माग्ने र स्वेच्छाले चन्दा दिने चलन संसारभरि छ । अमेरिका र बेलायतजस्ता विकसित र भारतज्ास्तो विकासोन्मुख प्रजातान्त्रिक मुलुकमा पनि यस्तो चलन छ । यस्ता कामका लागि अबौर्ं डलरको च्ान्दा उठ्छ । तर चन्दा विना करकाप लिनुदिनु पर्छ । करकाप र धम्की एवं त्रास प्रयोग गरी चन्दा उठाउनु गम्भीर अपराध मानिन्छ ।

नेपालमा पनि चन्दा माग्ने चलन नयाँ होइन । राणाहरूले पैसामात्र होइन, राम्री छोरी पनि जबर्जस्ती चन्दा माग्थे । पञ्चायतकालमा शाहहरूले सामाजिक सेवाका नाममा राम्रै चन्दा जम्मा गर्थे भने मण्डलेहरूले धम्क्याएर यस्तो रकम संकलन गर्थे । १९९० पछि राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूले चन्दा माग्ने बिँडो थामे । माओवादीहरूलेे सशस्त्र युद्ध सुरु गरेपछिका अवधिमा त पैसा र छोराछोरी चन्दा माग्ने कामलाई देशव्यापी आतंकको रूपमा विकसित गरे ।

सुरुमा जनताका पीरमर्का हेर्ने, उचनीचको भेदभावले पिल्सिएका जनतालाई शोषणबाट बचाउन अभियान सुरु गरेका माओवादीले जनतालाई आफ्नो पक्षमा पारेपछि पहिले त ती पिल्सिएका समूहलाई नै विभिन्न प्रकारले शोषण गरे । जसले चन्दा वा आर्थिक सहयोग गर्न सकेनन्, उनीहरूलाई एक घर एक व्यक्ति माओवादी सेनामा भर्ती गराउन बाध्य पारे । यसरी माओवादीले विकसित गरेको आतंकले विकराल रूप लियो । डरले चन्दा दिने कैयन व्यक्तिहरूको घरबास उठ्यो । चन्दा नदिनेलाई बन्धक बनाइयो र मारियो । यस आतंकले धनाढ्य वर्गलाई मात्र होइन, साना व्यापारी, जागिरे र किसानहरूलाई समेत छोडेको छैन । शान्ति प्रक्रिया सुरु भएपछि पनि माओवादी र तिनका भ्रातृ संगठनहरूले चन्दा आतंक कायमै राखे । जो चोर उस्ौको ठूलो स्वर भएपछि अरु दलहरूमा पनि माओवादीको नक्कल हुनथाल्यो । चन्दा आतंकले जनतालाई मात्र शोषित र त्रसित बनाएको छैन । यसले चन्दा आश्रति एउटा भुइँफुट्टा—परजीवी—समूहको सिर्जना गरेर देशको आर्थिक उन्नतिमा समेत कुठाराघात गरेको छ ।

नेपालमा, खासगरी राजनीतिक दलहरूमा, एउटा गलतफहमी के छ भने चन्दा आतंकको मार धनीलाईर् पर्छ, गरिबलाई पर्दैन । तर वास्तविकता यसको ठीक विपरीत छ । व्यापारीहरूले चन्दा तिरेको रकम उपभोक्ताबाट असुली गर्छन् । स्कुल-कलेजका सञ्चालकले विद्यार्थीका अभिभावकबाट चन्दा तिरेको रकम उठाउंँछन् । उत्पादकले उत्पादनको भाउ बढाएर र बिक्रेताले बिक्री गर्ने सामानमा नाफा थपेर उपर गर्छन् । यदि चन्दा आतंक असहय भए धनीहरूले नेपालमा बन्दव्यापार छोडेर अन्य मुलुकमा लगानी गर्न सक्छन्. बुद्धिजीवीहरू विदेशिन सक्छन् । त्यसैले चन्दाको मार अन्ततोगत्वा अन्त जान नसक्ने सर्वसाधारण र गरिब उपभोक्तालाई नै पर्छ । यसरी आफूलाई गरिबको मसिहा घोषित गर्नेले जनताको नाममा चन्दा आतंकको माध्यमबाट गरिबलाई झन् गरिब तुल्याएका छन् ।

चन्दा उठाउने भन्दै विभिन्न राजनीतिक दलहरूको नाममा गुन्डा समूह पनि सक्रिय हुनसक्छन् । विडम्बना के छ भने प्रायः ती सबैसँग दलको लेटरप्याड र छाप हुन्छ । तर दलहरूले र तिनका भ्रातृ संगठनले आफ्ना चन्दा संकलनका गतिविधि नियन्त्रण नगरेसम्म को कस्तो भनी छुट्याउन मुस्किल हुन्छ । चन्दा पीडित व्यक्तिहरूको गुनासोअनुसार पहिले चन्दा रकम दस लाखबाट सुरु गरे पनि अन्तमा दस हजार लिएर चित्त बुझाउने पनि केही भेटिएका छन् । त्यही दस हजार दिन पनि कति व्यापारी, संस्थाहरू, कलेज र हस्पिटललाई गाह्रो पर्छ । एक दल वा एक समूहलाई चन्दा दिएर पुग्ने होइन । लगातार धेरै थरी व्यक्ति चन्दा माग्न आउंँछन्, अनि कतिलाई दिएर स्ाक्ने ?

सन् २००६ मा संसदको पुनरुत्थानपछि संविधानसभाको निर्वाचन घोषणा नभएसम्म यस्तो चन्दा आतंकबाट जनताले आंशिक मुक्ति पाए पनि संविधानसभाको घोषणासंँगै यस आतंकले फेरि शिर उठायो र देशको अर्थतन्त्रमा निकै नराम्रो असर पार्‍यो । संविधानसभाको निर्वाचनपश्चात पुनः अलि मत्थर भएको यो आतंक दोस्रो संविधानसभाको चुनावको घोषणासंँगै फेरि एकाएक ह्वात्तै बढेकोे छ । अहिले जताततै विभिन्न दलहरूले चन्दा मागी जनतालाई दिक्क पार्न थालेका छन् ।

चन्दा आतंक एकातर्फ कानुनी शासन कायम गर्न सरकार असफल भएको द्योतक हो भने अर्काेतर्फ बढ्दो युवा बेरोजगारीको उपज हो । सरकारले लुटेर खान छुट दिएपछि लुटेर खान चाहनेले त्यसो गर्ने नै भए । त्यसमाथि पनि देशमा रोजगारीको अवसर नभएपछि र सबैले वैदेशिक रोजगारको अवसर नपाउने अवस्थामा एउटा दल वा आपराधिक समूहमा लागेरै भए पनि त जीविका त गर्नैपर्‍यो । एकपटक ठगिखान र राम्रो आम्दानी गर्न पल्किएका व्यक्तिलाई त्योे बानीबाट मुक्त गरी इमानदार व्यवसायमा लगाउन निकै कठिनाइ हुन्छ । चन्दा आतंकले देशमा प्रजातन्त्र र अर्थतन्त्रलाई धमिराले जस्तो भित्रभित्रै विस्तारै खाइरहेको छ । जागरुक नागरिक समाजले चन्दा आतंकविरुद्ध बेलैमा एकजुट भएर प्रतिकार नगरे नेपालमा छिट्टै प्रजातन्त्रको ठाउँं गुन्डातन्त्रले लिनेछ, लोकतन्त्रको ठाउँ लुटतन्त्रले लिनेछ, परिश्रमको ठाउँं परजीवनले लिनेछ र इमानदारीको ठाउँ बेइमानीले लिनेछ ।

राणाकालमा चन्दा शासकको मोजमज्जा र धन संकलनको माध्यम थियो । राणा—उत्तर शाहकालमा यो राजपरिवारको जनपि्रयता देखाउने र मण्डलेहरूको मोज गर्ने बाटो बन्यो । प्रजातन्त्रको पुनःस्थापनापछि चन्दा दलहरूको खर्च र नेताको चुनाव खर्च जुटाउने स्रोत भयो । माओवादीको उदयपछि चन्दा चन्दादाताको लागि आतंक र माओवादी कार्यकर्ताको जीविकोपार्जनका लागि उद्योग बनेको छ । अहिले नेकपा-माओवादीले फेरि चन्दा आतंकलाई नयांँ उचाइमा पुर्‍याएका छन् । चन्दा स्वेच्छाले आफूलाई मनलागेको काम वा दललाई दिन वा नदिन पाउनुपर्छ । जवर्जस्ती कुनै समूह विशेषको जीविकाको उद्योग गर्न होइन । यो उद्योग बन्द नगरेसम्म नेपालको विकास र जनताको सशक्तीकरण दिवास्वप्न मात्र रहनेछ ।

Kantipur Daily: http://ekantipur.com/np/2070/4/28/full-story/373813.html

Published on: 12/08/2013

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s