मुरारि शर्मा
विवेकपूर्ण हिसाबले ठिक्क रक्सी खानेको आय बढ्छ भने बढी रक्सी खाने अपराध, कुस्वास्थ्य, घट्दो उत्पादनशीलता, गरिबी र सामाजिक पछौटेपनको दलदलमा भासिन पुग्छन् । नेपालका शासक वर्गले शदियौंदेखि जनतालाई फुटाउने, नियन्त्रण गर्ने र शासन गर्ने सशक्त हतियारको रूपमा रक्सीलाई प्रयोग गरिआएका छन् । अहिले संविधानसभाको चुनावको घोषणा भएको छ । अब नेताहरूले हाम्रो भोट तान्न रक्सीको खोलो बगाउनेछन् । शासकले रक्सीको माध्यमबाट सर्वसाधारणलाई नियन्त्रण गर्ने पुरानो रणनीति हो । पूर्वी नेपालमा प्रचलित एउटा किंवदन्तीअनुसार एकपटक एउटा किसानले मृत्युलाई चिनेछ र झुक्याएर एउटा कोठामा थुनेछ । मान्छे मर्न छोडेपछि हाहाकार भएछ । देवी पार्वतीले गाउँलेहरूलाई रक्सीले मताएर झगडा गराएर कालका बारेमा कुरा खुलाउन रक्सी पृथ्वीमा पठाइन् । नभन्दै गाउँलेहरूले त्यसै गरेछन् । काल पत्ता लाग्यो र त्यसलाई छुटाइयो । मान्छे फेरि मर्न थाले ।
तर पहिले विवेकपूर्ण उपयोगको कुरा गरौँ । हकले, यु, कास्वेल्ल र अरु लेखकको अध्ययनबाट थोर-थोरै तर नियमित रूपमा मदिरा सेवन गर्नेहरूको आजीवन आय नगर्नेहरूको भन्दा बढी हुन्छ भन्ने पत्ता लागेको छ । अमेरिका र हल्यान्डमा थोरै तर नियमित रक्सी खानेको आजीवन आय नखानेको भन्दा दस प्रतिशतले बढी पाइएको छ । कर्करन र अरु लेखकले संयमित मदिरा सेवनले व्यक्तिलाई सामाजिक र काम सम्बन्धित सञ्जाल बनाउन सहयोग गर्ने भएकोले यस्तो भएको भनेका छन् । हुन पनि रक्सी ख्वाएर धेरै काम लिन सकिन्छ ।
दुर्भाग्यवश धेरैका लागि लागूपदार्थ र संयम साथसाथै हिँड्न सक्तैनन् ः मान्छेले रक्सी खान थालेपछि छिटै रक्सीले मान्छे खान थाल्छ ।
अत्यधिक मदिरा सेवनका केही परिणाम हेरौं । यसले अम्मलीलाई अपराधतिर प्रवृत्त गर्छ र कारागारमा पार्छ । अमेरिकाको मदिरा तथा लागूपदार्थ निर्भरता राष्ट्रिय परिषदका अनुसार त्यहाँ हुने वार्षर्िक ३० लाख संगीन अपराधमा रक्सीको संलग्नता पाइएको छ । हरेक वर्ष १,८७,००० -३७ प्रतिशत) बलात्कार र महिलाविरुद्ध हिंसा, १९७,००० -१५ प्रतिशत) डकैती, ६६१,००० -२७ प्रतिशत) गम्भीर हिंसा र १७ लाख -२५ प्रतिशत) सामान्य हिंसाका घटनामा मदिरा संलग्न भएको पाइन्छ ।
बेलायती चिकित्सक संघका अनुसार बेलायतमा ६०-७० प्रतिशत हत्या, ७५ प्रतिशत छुरा प्रहार, ७० प्रतिशत कुटपिट र ५० प्रतिशत झगडा र घरेलु हिंसामा रक्सी एउटा कारकतत्त्व रहेको छ । अस्ट्रेलियामा ५९ प्रतिशत हिंसापीडितले रक्सी र अन्य लागूपदार्थ हिंसाको कारण बताएका छन् भने ५५ प्रतिशतले हिंसाको कारण रक्सी रहेको बताउंँछन् ।
नेपालमा, प्रहरी सूत्रका अनुसार अहिले करिब ७० प्रतिशत अपराधहरू मदिरा र अन्य लागूपदार्थसँग सम्बन्धित छन् । गैरसरकारी संस्था सेविनले २००१ मा तयार पारेको प्रतिवेदनमा भनेको छ । १६ जिल्लामा २४०० परिवारको सर्वेक्षणमा केटाकेटीउपर भएको हिंसा र भौतिक दुव्र्यवहारका ३३.४ प्रतिशत, बेवास्ता र मानसिक दुव्र्यवहारका २८.५ प्रतिशत, शिक्षाबाट बञ्चित गरिएका २०.२ प्रतिशत र केटाकेटीलाई मादकपदार्थतर्फ प्रेरित गरेका ११.१ प्रतिशत घटनामा मादकपदार्थले योगदान गरेको थियो । अहिले परिस्थिति झन् बिग्रेको छ ।
रक्सीले स्वास्थ्य बिगार्ने काममा पनि मद्दत गर्छ । विश्व स्वास्थ्य संघको मदिरा र स्वास्थ्यसम्बन्धी २०११ को प्रतिवेदनअनुसार संसारमा ४ प्रतिशत मानिसहरू -६.२ प्रतिशत लोग्नेमान्छे र १.१ प्रतिशत स्वास्नीमान्छे) मदिराको कारण लाग्ने चोटपटक, क्यान्सर, मुटु र कलेजोका रोगहरूले मर्छन् । १५-२९ उमेर समूहमा ९ प्रतिशत मदिराको कारण मर्छन् ।
अधिक मदिरा सेवन र गरिबीले एकअर्काको पृष्ठपोषण गर्छन् र अधोगामी चक्रको सिर्जना गर्छन् । क्यानाडाकी फ्लोरा माथसनको एक अध्ययनअनुसार गरिब छरछिमेकमा बस्ने मान्छेले धनी छरछिमेकमा बस्ने मान्छेको दोब्बर रक्सी खान्छन् । विश्व स्वास्थ्य संघको मदिरा र स्वास्थ्यसम्बन्धी २००४ को प्रतिवेदनले भन्छ, श्रीलंकामा ११ जिल्लामा गरिएको सर्वेक्षणले ७ प्रतिशत मान्छेले आफूले कमाएको भन्दा बढी रकम रक्सीमा खर्च गर्छन् । जीर्ण गरिबी अनुसन्धान केन्द्रको २००७ को प्रतिवेदनअनुसार अत्यधिक मदिरा सेवन गर्नेहरूले रक्सीमा गर्ने खर्चको अलावा कम ज्याला पाउने, जागिर गुमाउने, उपचार खर्च बढ्ने र स्थानीय स्तरमा उपलब्ध हुने विकासका अवसरहरूबाट बञ्चित हुनेजस्ता अन्य आर्थिक समस्याहरू पनि भोग्नुपर्छ ।
नेपालमा सेविनको उक्त प्रतिवेदनअनुसार रक्सीको दुरुपयोगले २७.८ प्रतिशतले सम्पत्तिको नाश र ऋणको पीडा व्यहोर्नुपर्छ भने अरुले सामाजिक प्रतिष्ठाको स्खलन र परिवार एवं छिमेकीसँंगको सम्बन्धमा तीतोपन भोगेका छन् । मैले आफ्नै आँखाले कतिपय खातापिता परिवार रक्सीको दुव्र्यसनले गरिबी र अभावको भुमरीमा परेको देखेको छु । कतिपय मदिरासेवीले बियर -जाँड) वाइन कडा रक्सीभन्दा सुरक्षति सम्झन्छन्, जुन गलत हो । यस्तो भ्रम चिर्दै अमेरिकाको मदिरा तथा लागूपदार्थ निर्भरता राष्ट्रिय परिषदले भनेको छ १२-औंस बियर, ५-औँस वाइन र १.५-औँस रक्सीमा बराबर हानिकारक मादकपदार्थ हुन्छ । पहाड र तराईका शासक वर्गलाई रक्सीका आपराधिक, आर्थिक, सामाजिक र स्वास्थ्यसम्बन्धी बेफाइदाहरू बारेमा वैज्ञानिक अध्ययनहरू हुनु अगाडि नै थाहा थियो । त्यसैले उनीहरूले आपmनो वर्गलाई मादकपदार्थ निषेध गरे वा सेवनमा नियन्त्रण लगाए । रक्सी बनाए र बेचे । उनीहरूलाई थाहा थियो, गरिब, अशिक्षति र अम्मलीलाई नियन्त्रण र शासन गर्न सजिलो हुन्छ ।
मलाई लागेको थियो, १९९० पछि प्रजातन्त्र र भोटले सर्वसाधारणलाई सशक्तीकरण गरेर उनीहरूको पक्षमा शक्तिको तराजु ढल्काउलान् । भोटको उचित प्रयोगले हामी जनताले आफ्ना प्रतिनिधि चुन्ने, राम्रो काम गर्नेलाई फेरि चुन्ने र राम्रो काम नगर्नेलाई हराउन सक्थ्यौं । दुर्भाग्यवश, तर त्यसो भएन । कतिपय पञ्चायती नेता नै बहुदलका नेता भएर आए । नयाँ नेता पनि पहाड र तराईका सम्भ्रान्त शासक वर्गबाट नै आए । किनभने हामीमध्ये कतिले दुई ग्लास रक्सीसँंग हाम्रो बहुमूल्य मत साट्यौं । नातागोता, जातजाति र क्षेत्रीयताको आधारमा मत हाल्यौं ।
त्यसपछि माओवादी सशस्त्र विद्रोह आयो । माओवादीले आफ्ना तिलश्मी प्रचारले झुक्याएर गरिब र उपेक्षतिहरूबाट सहयोग जुटाए । कतिपय हाम्रा मत फेरि पनि जनवादी सांस्कृतिक कार्यक्रम, फोस्रो वाचा र रक्सीमा बिके । माओवादी नेता पनि पुरानै शासक वर्गबाट आए । शान्ति प्रक्रिया सुरु भएपछि २००८ को चुनावमा माओवादी सबभन्दा ठूलो दल भए, संविधानसभामा । उनीहरूले दुईवटा सरकारको नेतृत्व गरे भने एउटाबाहेक अरु सबै सरकारमा सहभागी भए ।
यस अवधिमा माओवादीको दल सबभन्दा धनी भयो भने माओवादी नेता नेपालका नवधनाढ्य भए । उदाहरणका लागि पुष्पकमल दाहाल १५ करोडको महलमा बस्छन्, अति महंँगा घडी र सुट लगाउँछन् र महंँगा होटल एवं रिसोर्टमा आराम गर्छन् । फेसबुकमा पोस्ट गरेको एउटा चित्रमा माओवादी नेता कृष्णबहादुर महराका भनेर दुईवटा घरहरू एउटा थोत्रो र अर्को आलिशान महल देखाइएको छ । घर महराका भए वा नभए पनि त्यस चित्रले मध्यमवर्गी माओवादी नेताहरूले गत ५ वर्षमा नाटकीय रूपमा उच्चवर्गमा फड्को मारेको स्पष्ट पार्छ ।
नभन्दै संसारका साम्यवादी नेताहरू लेनिन, माओ, होची मिन्ह, कास्त्रो, किम आदि मध्यम वर्गबाट आएका थिए । तर सत्ता पाएपछि उनीहरू विलासी राजकीय शैलीको जीवन बिताउनतिर लागे । सत्ता पाउने बित्तिकै यी नेताहरूको वर्गीय र व्यक्तिगत स्वार्थले साम्यवादी लक्षलाई किच्यो । त्यसले मलाई जर्ज अर्वेलको ‘एनिमल फार्म’ भन्ने उपन्यासमा समावेश गरिएको भनाइको सम्झना गराउँछ ः केही जनावरहरू अरुभन्दा बढी समान हुन्छन् ।
मधेस आन्दोलनले धेरैवटा मधेसवादी दलहरूलाई जन्म दियो र सामूहिक रूपमा ती दलहरू चौथो शक्तिको रूपमा उदय भए । मधेसवादी नेताहरूले २००८ देखि सबै सरकारमा निरन्तर भाग लिए । उनीहरूले पनि शक्तिमा छँदा अरु नेताजस्तै आफ्नैलागि धन आर्जनमा लागे र जनतासँग गरेका वाचा-बन्धन बिर्सिए । मतदाताले चुनाव अगाडि फोस्रो भाषण, दुई ग्लास रक्सी र दुई चोक्टा मासुमात्र पाए । अझ खतरनाक, खुला राजनीतिक र आर्थिक वातावरणमा धनी र सम्भ्रान्त झन् धनी र सम्भ्रान्त भए । गरिब राजनीतिक र आर्थिक रूपले झन् सिमान्तकृत भए । स्पष्टतः राजनीतिक परिवर्तनहरूले नेताहरूलाई सशक्तीकरण गर्यो, तर सर्वसाधारण जनतालाई गरेन ।
यसको केही दोष नेतालाई र केही हामी जनतालाई जान्छ । नेताहरूले जनतालाई झुक्याए र आफ्नो स्वार्थमात्र पुरा गरे भने हामीले चुनावको मुखमा आफ्नो भोट रक्सी र मासुसँग बेच्यौं । नातागोता, जातजाति र क्षेत्रीयताको आधारमा भोट हाल्यौं । मतको विवेकपूर्ण उपयोग नगरेर हामीले नेताउपर आफ्नो नियन्त्रण र नैतिक अधिकार गुमायौं । हामी जनताले नै नेतालाई हामीमाथि अवाञ्छित नियन्त्रण गर्ने अवसर दियौं ।
हामीले स्वसशक्तीकरणबाट यस अवस्थालाई उल्टाउन सक्छौं । यसका लागि हामीले पढ्ने, आफ्नो क्षमता वृद्धि गर्ने, काम गर्ने, राजनीतिक एवं आर्थिक अवसरहरूको उपयोग गर्ने, रक्सीको संयमपूर्वक उपयोग गर्ने, आफ्नो भोट दुई गिलास रक्सी एवं दुई प्लेट मासुमा बेच्न बन्द गर्ने र भोटको विवेकपूर्ण प्रयोग गरी जनसेवामा प्रतिबद्ध नेता चुन्ने र स्वार्थी एवं भ्रष्टहरूलाई हराउने गर्नुपर्छ । दिगो सशक्तीकरण हामी भित्रैबाट आउँछ र यसले हामीलाई दासत्व र नियन्त्रणबाट मुक्ति दिलाउँछ । अबका दिन र चुनावमा हामी यसको ख्याल राखौं ।
Kantipur Daily: http://ekantipur.com/np/2070/3/18/full-story/371251.html
June 2, 2013