दस वर्षमा हुन सक्छ कायापलट

राजनीतिक नेताहरूको चरम लोभ, स्वार्थ र पाप विकासमा मुख्य तगारो हुन्छन् । यी दोषले सुशासनको सम्भावनालाई निमिट्यान्न पार्छ । सुशासन नभए विकास हुँदैन । नेपालको द्रुत विकासका लागि यी दोषहरूलाई घटाउनु नितान्त आवश्यक छ ।अर्थशास्त्रीहरू भन्छन् राम्रो भविष्यका लागि वर्तमान उपभोगको कटौती बचत हो र बचतको बुद्धिमत्तापूर्ण लगानीले विकास हुन्छ । तर राजनीतिक लोभ, स्वार्थ र पापले राष्ट्रलाई बचत गर्न र बचतको बुद्धिमत्तापूर्ण लगानी गर्न दिँदैनन् । लोभले नेतालाई आफू र आफ्नो परिवारभन्दा टाढा हेर्न दिँदैन । स्वार्थी नेतालाई आफ्नो दलको स्वार्थभन्दा माथि उठ्न दिँदैन । नेतालाई पापले अरूलाई बिगार्न प्रेरित गर्छ्र ।

जुन मुलुकमा नेताहरूले लोभ, स्वार्थ र पापलाई घटाएका छन्, त्यहाँ द्रुत विकास भएको छ । उदाहरणका लागि ली क्वान-युले गरिब माझीगाउँ सिंगापुरलाई २/३ दशकमा संसारको समृद्ध राष्ट्र बनाए । डेंग सिआओ पिंगले २ दशकमा २ अंकको दरमा विकास गरी चीनलाई संसारको दोस्रो अर्थतन्त्र बनाउने राजमार्ग खोलिदिए । मनमोहन सिंहले अर्थमन्त्री भएका बेला भारतलाई आर्थिक विकासको नयाँ उचाइमा पुर्‍याउने गोरेटो खोलिदिए । राजा जिग्मे सिंगे वाङचुकले २ दशकअगाडि नेपालभन्दा पिछडिएको भुटानको प्रतिव्यक्ति आय अहिले २०८० डलर हुने गरी विकास गराए । छिमेकी भारतको बिहार प्रान्त २००५ अघिसम्म राजनीति पीडित थियो, रुग्ण थियो, गरिब थियो, पिछडिएको थियो । तर मुख्यमन्त्री नितिश कुमारले नेतृत्व गरेको बिहारको वर्तमान प्रान्तीय सरकारले विकासको नयाँ लहर ल्याएको छ । २००५-११ मा  बिहारको आय २५० प्रतिशतले बढेको छ  ।

पश्चिमा मुलुकहरूमा २००८ को मन्दी र त्यसपछिको गतिहीन सुधारका बाबजुद पनि २०१० मा चीन र भारतमा १० प्रतिशत हाराहारीमा विकास भएको थियो । भुटानको विकास दर सोही वर्ष ६.७ प्रतिशत थियो । बंगलादेशको विकास दर ६ प्रतिशत थियो । हालै प्रकाशित तथ्यांकअनुसार २०१०/११ मा नेपालको कुल गार्हस्थ उत्पादन औसत ३.१ प्रतिशतले बढेको छ । जनसंख्या वृद्धिलाई घटाएर हेर्दा नेपालीको औसत आय जम्मा एक प्रतिशतले मात्र बढेको छ ।

छिमेकी मुलुकहरू उच्च विकास दरका कारण संसारको प्रशंसाका पात्र बनेका छन् भने नेपालले किन न्यून विकास र न्यून आकांक्षाको भुमरीभित्र रुमल्लिनुपरेको छ ? राजनीतिक नेताहरूको चरम लोभ, स्वार्थ र पाप नै नेपालको विकास गति मन्द हुनु र नेपाल गरिब हुनुमा मुख्य कारक रहेका छन् । लोभले नेपाली नेताहरूलाई जनताको सेवा गर्नको सट्टा गलत माध्यमबाट अकूत धन कमाई आफ्नै सेवा गर्न प्रेरित गरेको छ । हिजो चप्पल र कमीजसुरुवाल लगाएर पैदल हिंड्ने नेता आज सुटबुट लगाएर प्राडो र पजेरोमा सयर गर्छ । हिजो झुपडीमा बस्ने नेता आज महलमा राज गर्छ । हिजो घरमा एक छाक खान धौधौ पर्ने नेता आज पाँचतारे होटेलमा ब्रेकफास्ट, लन्च र डिनर खान्छन् । उनीहरूले थोरै समयमा आगामी २/४ पुस्ताका लागि मनग्गे सम्पत्ति जोडिदिएका छन् । स्वार्थी नेताहरूलाई आफ्नो दलको हितभन्दा पर नदेख्ने बनाएको छ जसले गर्दा दलहरूबीच खिचातानी छ, स्वार्थको टकराव छ, राजनीतिक अस्थिरता छ र एकले अर्कालाई काम गर्न नदिने वातावरण बनेको छ । पापले माओवादीलाई १५,००० मान्छे मर्न वातावरण सिर्जना गर्न प्रेरित गर्‍यो । बाटोघाटो, पुल, विद्युत् आयोजना, दूरसञ्चार टावर भत्काउन उक्सायो । पापले नै राजनीतिज्ञ र तिनका समर्थकहरूलाई प्रतिस्पर्धीलाई कुट्ने मार्नेतर्फ उक्साइरहेछ ।

यस्तो अवस्थामा सुशासन सम्भव हुँदैन अनि सुशासनबिना विकास सम्भव हुँदैन । त्यसैले नेपाली जनता गरिबीको धापमा भासिएका छन् । उनीहरूको पेट खाली छ, आङ नांगो छ, गोडामा चप्पल छैनन्, टाउको लुकाउने भरपर्दो छानो छैन । नेताहरूको औसत आय स्विजरल्यान्डको प्रतिव्यक्ति आयसँग प्रतिस्पर्धा गर्छ तर औसत नेपालीको आय ४४० डलर छ जसले नेपाललाई संसारका १० न्यूनतम आय भएका मुलुकका रूपमा चिनाएको छ । सरकारले न त शान्तिसुरक्षा दिएको छ, न त विकास बजेट खर्च गर्न सकेको छ, न त सुशासन दिएको छ । त्यस्तो हुँदाहुँदै पनि ३ प्रतिशत विकास हुनुचाहिं पक्कै सकारात्मक हो । यसको श्रेय जनतालाई, व्यापारी-उद्योगपतिलाई र मौसमलाई जान्छ । नेपालको युवापुस्ताको एउटा ठूलो हिस्साले विदेशमा श्रम र सीप बेचेर विदेशी मुद्रा भित्र्याइरहेका छन् ।

नेपालमै सर्वसाधारण रातदिन पसिना चुहाएर हलो जोत्दै छन्, कोदालो खन्दै छन् । कोही फलफूल र तरकारी उत्पादन गरेर बेच्दै छन् । व्यापारी र उद्योगपतिहरू मुलुकमा अस्थिरता र जोखिम भए पनि लगानी गर्दै छन् अनि मौसमले पनि साथ दिएको छ । नेपालमा ३ प्रतिशत होइन, १० प्रतिशतले विकास गर्ने सम्भावना छ । जलस्रोत, हिमाल र संस्कृति, मिहिनेती जनता र चीन र भारतका व्यापारिक एवं औद्योगिक प्रतिस्ठानहरूसँग सहकार्य हाम्रो उच्च विकास दरका स्रोत हुन सक्छन् । तर कुरा होइन काम गर्नुपर्छ, हामी नेपाली काम कम र कुरा बढ्ता गर्छौ।

म बालक हुँदादेखि मैले कर्णाली जलविद्युत् योजनाका बारेमा पढेको-सुनेको हो । अब म ६० को नेटोतिर लाग्दै छु तर कर्णाली योजना कागजमा सीमित छ । यसबीचमा भुटानजस्तो नेपालभन्दा सानो मुलुकले चुका र ताला जलविद्युत् योजनाहरू सम्पन्न गरी गत २० वर्षमा प्रतिव्यक्ति आय ५०० प्रतिशतले बढाएको छ । खासगरी भारतीय र चिनियाँ निजी क्षेत्रसँग सहकार्य गरेमा नेपालको जलविद्युत् विकासको ढोका खुल्नेछ ।  भारत र चीनबाहेक अन्यत्रबाट जलस्रोतमा लगानी ल्याउने हो भने नेपालले विद्युत् प्रसारण लाइनलाई भारतबाट पाउने पारवहन सुविधामा समावेश गराउनुपर्छ । हुन त एकथरी राजनीतिज्ञ र पण्डितहरूले निर्यातका लागि विद्युत् उत्पादन गर्ने कुराको खुलेर विरोध गर्नुभएको छ । तर उहाँहरूले केमा ध्यान दिनुभएको छैन भने नेपालको राजनीतिक अस्थिरता र विद्युत् महसुलमा चल्ने राजनीतिका कारण नेपालकै आन्तरिक खपतका लागि जलविद्युत् उत्पादनमा ठूलो बाह्य लगानी निजी क्षेत्रबाट आउँदैन ।

प|mान्समा ८ करोड हाराहारीमा पर्यटकहरू आउँछन्, त्यहाँका प्राकृतिक सुन्दरता र सांस्कृतिक एवं ऐतिहासिक धरोहरहरू हेर्न थाइल्यान्डमा २०११ मा १ करोड ९० लाख पर्यटक ओइरिएका थिए । नेपालको प्राकृतिक सुन्दरता र सांस्कृतिक एवं ऐतिहासिक धरोहर पनि कम छैनन् । तर मुस्किलले बर्सेनि १० लाख पर्यटक नेपाल आउँछन् । नेपालले आफ्ना सम्पदाहरूलाई बजार गरेर आगामी दस वर्षमा पर्यटक संख्या तेब्बर बनाउन सक्छ ।

यी कुराका अलावा नेपालको विकासमा बलियो योगदान दिन सक्ने कुरा चिनियाँ र भारतीय औद्योगिक प्रतिस्ठानहरूसँगको सहकार्य हुन्छ । ठूलाठूला दुई मुलुकका बीचमा रहेको नेपालमा ठूलो लगानी ल्याउन कोसिस गरे पनि सफलता हासिल गर्न सकिन्न । ठूलो बजार भएको मुलुकमा लगानी नगरेर नेपालमा ठूलो लगानी गर्ने लगानीकर्ता कमै हुन्छन् । तर ठूला चिनियाँ र भारतीय उद्योगको आपूर्ति-साङ्लोमा नेपाली उद्योगलाई आबद्ध गर्न सकेमा नेपालको विकास ह्र्वात्तै बढ्नेछ । एउटा डेल ल्यापटप कम्प्युटर बनाउन १६ भन्दा बढी मुलुकमा बनेका पार्टपुर्जाहरू प्रयोग हुन्छन् । भारत र चीनमा ठूलो पैमानामा उत्पादन हुने केही वस्तुहरूका लागि चाहिने केही पार्टपुर्जा मात्र नेपालले उत्पादन गर्न सके पनि नेपालको औद्योगीकरण हुन्छ ।

न अन्धराष्ट्रवाद न त गैर-राष्ट्रवादले देशको भलो गर्छ, नेपाली नेताहरूमा यी दुई किनारा बढी हावी देखिन्छन् । नेपाललाई व्यावहारिक राष्ट्रवाद चाहिएको छ जसले नेपालको अस्मिता र सार्वभौमसत्ता कायम राख्दै विकास कार्यहरूमा छिमेकी र अन्य मित्र राष्ट्रहरूसँग सहयोग र सहकार्य बढाएर जनताको जीवनस्तर उकास्ने काम गरोस् । त्यसो गर्न सक्ने र गर्न चाहने नेता र सरकारको नेपालमा नितान्त अभाव छ ।

नेपालमा विकासका लागि प्रशस्त भौतिक स्रोतसाधन छन् । मिहिनेती जनता छन् । तीव्र गतिमा विकास गरिरहेका छरछिमेकी छन् । सहयोग गर्न चाहने मित्रराष्ट्र छन् तर नेताहरूको चरम लोभ, स्वार्थ र पापले नेपाललाई आफ्नो खुट्टामा उभिन र अफ्नो हिफाजत गर्न नसक्ने दक्षिण एसियाको रोगी बनाएको छ । उनीहरूको अन्धराष्ट्रवाद र गैरराष्ट्रवादले नेपाललाई राष्ट्रिय हित हेर्न नसक्ने अन्धो बनाएको छ । राजनीतिज्ञहरूलाई यसबारेमा सोच्ने फुर्सद छ ? केही गरेर देखाउन अठोट र प्रतिबद्धता छ ? १० वर्ष राष्ट्रका लागि छोटो समय हो तर विकासका लागि होइन । छिमेकका भुटान र बिहार यसका उदाहरण हुन् ।

http://www.ekantipur.com/nep/2068/10/29/full-story/342728.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s