जनताको सेना

मुरारि शर्मा

रक्षा मन्त्रीको अध्यक्षतामा केही महिनाअघि गठित ६-सदस्यीय समितिले तयार परेको सुरक्षा रणनीति प्रतिवेदनउपर प्रतिक्रिया दिंदै  नेपाली सेनाले रक्षा मन्त्रालय र मन्त्रिपरिषदलाई ओझेल पारी राष्ट्रपतिसंग सोझै समन्वय गर्ने प्रस्ताव गरेको समाचारले मजस्ता लोकतन्त्रवादी व्यक्तिहरुलाई स्तव्ध तुल्याएको छ | चाखलाग्दो कुरा के छ भने यस्तो प्रस्ताव हाम्रा  उच्च सैनिक अधिकृतहरु — जसमध्ये अधिकांश अमेरिका, बेलायत र भारतजस्ता प्रजातान्त्रिक मुलुकहरुमा प्रशिक्षित छन् — बाट आएको छ | त्यसैले यो प्रस्तावको पछाडि केही गहिरा कारण छन् भन्ने अनुमान गर्न गार्हो छैन |  तर यस प्रस्तावलाई स्वीकार गरिएमा  यसले लोकतन्त्रलाई मात्र कमजोर बनाउने होइन अपितु नेपाली सेनालाई पनि ठुलो हानी पुर्याउने छ भन्ने बिर्सनु हुँदैन  |

अवश्यनै माओबादीहरुले आफ्ना बढी भन्दा बढी लडाकुहरुलाई सेनामा समावेश गरी सेनालाई राजनैतिकरण गर्ने र आफ्नो वर्चस्व कायम गरेर राज्य हतियाउने प्रयास गरिरहेको बेला आएको सेनाको यो प्रस्ताव वाहियात भनेर त्यसै मिल्काउने अवस्था छैन | आलंकारिक भाषामा भन्ने हो भने हाम्रो घर (मुलुक) बिग्रेको, भताभुंग भएको छ | घरको रक्षा र प्रगति एवं सन्तानको संरक्षण गर्ने दायित्व बोकेका अभिभावकहरु (नेताहरु) आफ्ना सीमित वैयक्तिक र पारिवारिक स्वार्थपूर्ति गर्न घर बिगार्ने र सन्तान (संस्थाहरु) लाई लात्तेभकुण्डो बनाएर जथाभावी गर्ने काममा लागिपरेका छन्  | उनीहरुले एउटा सन्तान निजामती सेवालाई दासलाई जस्तो गाली गलौज गर्ने, कुटपिट गर्ने, र जथाभावी सरुवा-बढुवा गर्ने गरेर निरिह बनाइसकेका छन् | अर्को सन्तान शिक्षण सेवालाई पनि भताभुंग तुल्याइसकेका छन् | प्रहरी र सशस्त्र प्रहरीलाई पनि कमजोर पारिसकेका छन् |  उच्च सैनिक अधिकारीहरुले अझै थोरबहुत अस्तित्व बाँकी रहेको अर्को सन्तान सैनिक संस्थाको अस्मिताको रक्षा गर्न खोज्नु अस्वाभाविक होइन |

यस्तो प्रस्तावका पछाडि सेनाका व्यावसायिकता र  वृत्तिविकासको संरक्षण गर्ने चाहना होलान | नेपालको अत्यन्त तरल र अस्थिर राजनैतिक वातावरण प्रतिका आशंका र त्यसबाट उठ्ने अनिश्चितताका डर होलान | सेनाको अनावश्यक राजनैतिकरण  हुन नदिने उद्देश्य होला | ती सबै विचारणीय  मुद्दा हुन् र नेतृत्ववर्गले, खासगरी संविधान सभाले, संविधान लेख्ता ती मुद्दालाई सम्बोधन गर्नै पर्ने आवश्यकता छ | सेनाले पनि कमजोर दाजुभाई दिदीबहिनीका बिचमा   ममात्र बलियो रहन सक्छु भनेर अलग्गिएर आफ्नो अस्तित्व जोगाउन सक्तैन | बरु अरु दाजुभाई दिदीबहिनीसंग मिलेर गलत बाटोमा लागेका

अविभावकलाई सही बाटोमा ल्याउन संयुक्त प्रयास गरेमात्र आफ्नो लक्ष पुरा गर्न सक्छ |

सेनाको व्यवस्थापनका लागि हामीसंग स्पष्टत २ वटा बाटाहरु छन् | पहिलो बाटो —  सैनिकलाई जनताको मालिक बनाउने  | पाकिस्तानका जनरल  अयुब खान ,  याह्या खान  एवं परवेज  मुसर्रफ र बर्माका ने विन एवं थान स्वेले यो बाटो रोजे | सरकारलाई भूमिकाहीन बनाई  राष्ट्रपतिको अध्यक्षतामा गठित  ४ सुरक्षा संस्थाका प्रमुखहरुको सुरक्षा परिषदले  शान्ति-सुरक्षा हेर्ने जंगी अड्डाको  प्रस्ताव पाकिस्तानको नक्कल हो  | अनुभवले के देखाएको छ भने यस बाटोले मुलुकलाई सैनिक क्रान्ति-प्रतिक्रान्ति-प्रजातन्त्र-क्रान्तिको डरलाग्दो चक्रमा

फसाउंछ |  पाकिस्तान हाम्रो मित्र हो तर दुर्भाग्यवास  प्रजातन्त्रको अनुकरणीय  नमुना होइन न त नागरिक-सैनिक सुमधुर  सम्बन्धको राम्रो उदाहरण हो | वास्तबमा पाकिस्तानी  बाटो स्थायी अस्थिरता र शिथिल विकासको बाटो हो | एउटा मुलुकबाट फुटेका भारत र पाकिस्तानबीचको स्थिरता र विकासको ठुलो  फरकलाई  प्रजातन्त्र र यसको अभावले धेरै हदसम्म व्याख्या गर्दछ |

दोस्रो बाटो – अन्य प्रजातान्त्रिक मुलुकमा जस्तै  हामीले  सेनालाई सार्भभौम जनता र जननिर्वाचित सरकारको नियन्त्रणमा ल्याउने तर राजनैतिकरण हुन नदिई  जनताको सेवक र मुलुकको रक्षक बनाउने   | यसको लागि कुनै दलमा लागेको आधारमा होइन, पूर्वनिर्धारित योग्यता पुगेको आधारमा सेनामा भर्ना गर्ने प्रावधान हुनु पर्छ |  प्रधानमन्त्रीय प्रणाली भएका बेलायत र अरु विकसित  मुलुकहरु मात्र होइन राष्ट्रपतीय प्रणाली भएको  अमेरिका पनि यसै बाटोबाट अगाडि बढेका छन्  र  सम्पन्न भएका छन् | भारत, ब्राजिल र अन्य कतिपय विकासोन्मुख मुलुकहरुले पनि यही मार्ग अपनाएका छन् | प्रजातान्त्रिक मुलुकहरुमा अधिकारको सन्तुलन हुन्छ | कसैले पनि आफ्नो सिमा नाघ्न पाउंदैन | नाघेमा त्यसविरुद्ध कानुनी एवं राजनैतिक  उपचार उपलब्ध हुन्छन | यसले गर्दा समाज र मुलुकका सबै पक्षको विकास, उन्नति र अधिकारको रक्षा हुन्छ |

एउटा दलले सेनाको राजनैतिकरण गर्न खोज्यो भनेर सेनाले सरकारलाई दायित्व र भूमिकाहीन बनाउने बाटो खोज्नु हुँदैन | मलाई विश्वास छ हाम्रा उच्च सैनिक अधिकारीले नेपाललाई हिजोको पाकिस्तान र आजको बर्मामा पुर्याउने बाटो खोजेका होइनन | देश विदेशमा तालिम लिएका र संयुक्त राष्ट्र संघअन्तर्गत काम गरिसकेका हाम्रा सैनिकहरुलाई थाह छ — यदि यो  बाटो अपनाउने हो भने मुलुकले डर लाग्दो क्रान्ति-प्रतिक्रान्ति-प्रजातन्त्र-क्रान्तिको संस्कृतिको   चक्रवातमा  फंसेर दुख पाउँछने छ | जनताको सार्वभौमिकता र जन-उत्तरदायी निर्वाचित सरकारको धारणाको अवमुल्यन पनि हुनेछ | राजतन्त्रको दौराको फेर छोडेर फड्को मारेको नेपाली सेनाले यस्तो पश्चातगामी दृष्टिकोण राख्ला भन्ने कल्पना गर्न सकिन्न |

त्यत्ति मात्र होइन | उनीहरुलाई पक्कै थाह छ यसबाट सेनालाई पनि ठुलो हानी हुनेछ | यदि सरकारको नियन्त्रण र दायित्वमा नहुने हो भने  सेनाले सरकारबाट सौतेनी व्यबहार पनि खप्नु पर्नेछ — चाहे त्यो बजेट दिने कुरामा होस् अथवा सेनाका हितसंरक्षणका लागि संसद एवं सडकमा बोल्ने र  प्रतिरक्षा  गर्ने कुरामा होस् | उनीहरुले अवश्य बिर्सेका छैनन् कसरी २०४६ मा  प्रजातन्त्रको पुनस्थापना भएपछि  दरबारको नजिक ठानिएको सेना बजेटलगायत अरु कुरामा पछि पर्यो |  भूराजनैतिक कारणले नेपालमा पाकिस्तानी सेनाले जस्तो सैनिक क्रान्ति गरेर वा गर्ने धम्की दिएर  निर्वाचित सरकारलाई तर्साउने अवस्था पनि  छैन | पाकिस्तानमा जस्तो मुलुकको  पछौटेपनको दोष पनि सेनाले बोक्नु  पर्नेछ जुन नमिठो हुन्छ  |

वास्तबमा  सेनालाई व्यवसायिकताको संरक्षण  एवं वृत्तिविकास हुने र जथाभावी राजनैतिक हस्तक्षेप नहुने  प्रत्याभूति चाहिएको हो जुन मनासिब छ  |  यस्तो प्रत्याभूति निजामतीलगायत अरु सेवालाई पनि चाहिएको छ |  यी सीमाभित्र रही   सेनालाई जन-उत्तरदायी  सरकारको नियन्त्रण एवं निर्देशनमा जनताको सेवक बनाउनु पर्छ,  कुनै हैकमवादी दल वा सत्तामोही   सैनिक महारथीरथीहरुको सत्ताप्राप्तिको हतियार होइन |

त्यसैले हाम्रा अविभावकहरुले  संबिधान लेख्दा  र कानुनको कार्यान्वयन गर्दा  एकातिर प्रजातान्त्रिक मूल्य मान्यता कमजोर नहुन्, जनताको सार्वभौमिकता नखुम्चियोस एवं निर्वाचित सरकारको अधिकार कुण्ठित नहोस भन्ने ख्याल गर्न जरुरी छ |  अर्कोतिर  उनीहरुले आफ्नो घरको रक्षा एवं विकास गर्ने र सन्ततिहरुलाई कानुन एवं व्यवहारमा  समुचित संरक्षण दिने विश्वास दिलाउन पनि पनि त्यत्तिकै आवश्यक छ | यसले देशको चौतर्फी भलो गर्नेछ |

 

२१ जुन २०१०

(Published in Nagarik Dainik of 24 June 2010)


 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s