अर्को माओवादी चाल ?

अर्को माओवादी चाल ?

murari sharma

काठमाडौ, वैशाख २९ – गएका एक-दुई दिनमा मैले बातचित गरेका काठमाडौंका कतिपय मानिसहरूले माओवादीहरूले ५ बुँदे सम्झौतालाई पालन नगर्ने शंका व्यक्त गरेका छन् । एकजना वरिष्ठ पूर्वअधिकारीले भन्नुभयो, ‘संविधान लेखिसक्ने बित्तिकै माओवादीले धोका दिनेछन् । माओवादीहरूले नेपाली कांग्रेसलाई मूर्ख बनाएका छन् ।’ यस सम्भावनालाई नकार्न सकिन्न । विगतमा खेल सुरु भएपछि आफ्नो हात माथि पर्ने बित्तिकै माओवादीले खेलका नियमहरू मिचेका वा नमानेका उदाहरणहरू थुप्रै छन् । माओवादी युद्धताका आफूलाई अप्ठेरो पारेको बेला वार्ता गर्ने भन्थे र आफ्ना पूर्वसर्तहरू खासगरी तिनका कार्यकर्ता जेलबाट छुट्ने बित्तिकै वार्ता भंग गरेर हिंड्थे ।

माओवादीहरूले सन् २००६ को राजनीतिक परिवर्तनपछि गरेका अधिकांश सहमति र सम्झौताहरू आफ्नोतर्फबाट कार्यान्वयन नगरी राखेका थिए । उनीहरूले संविधानसभाको चुनावमा सबभन्दा ठूलो दल भएपछि मुलुकको पहिलो राष्ट्रपति हुन लुगा टकटक्याउँदै गरेका गिरिजाप्रसाद कोइरालालाई दिएको पूर्ववचनबाट पछि हटेर थाङनामा सुताइदिएका  थिए ।   जसले इतिहास बिर्सन्छ, उसले इतिहास सम्झेर पूर्वगल्तीहरू नदोहोर्‍याउन सतर्कता अपनाउनेको भन्दा बढी दुःख पाउँछ । मलाई आशा छ, नेपाली कांग्रेस र एमालेले इतिहास बिर्सेका छैनन् । राजनीतिको उद्देश्य शक्ति प्राप्त गर्ने र त्यसको उपयोग व्यक्तिगत र दलगत हितमा प्रयोग गर्नु हो । त्यसैले संविधान लेखिसकेपछि तर जारी गर्नुभन्दा अगाडि प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली कांग्रेसको लागि सजिलै कुर्सी खाली गर्छ भन्ने सोच्नु अपरिपक्वता हो ।

आश्चर्यजनक घटना नहुने होइनन्, किनभने ती पूर्वानुमान गर्न नसकिने नियमितताका साथ घट्छन् । तर माओवादीले आफ्नो प्रमुख वर्गशत्रु नेपाली कांग्रेसलाई संविधान निर्माणको श्रेय लिने महत्वपूर्ण बेलामा प्रधानमन्त्रीको पदका लागि सजिलै मार्गप्रशस्त पारिदिनु उनीहरूको चरित्रसंग नमिल्ने अनौठो घटना हुनेछ । कसैले पनि सरकार प्रमुख भएर देश हाँक्ने अवसरको बलिदान त्योभन्दा ठूलो पुरस्कार पाउने विश्वास नभई दिंदैन । माओवादीले पनि अझ ठूलो पुरस्कारका लागि प्रधानमन्त्री पद माया मार्न खोजेका हुनसक्छन्, यदि उनीहरूले सम्झौता पालन गरे भने । त्यस्तो ठूलो पुरस्कार नयाँ संविधान अन्तर्गत हुने चुनावमा शीतल निवास र सिंहदरबार दुवै हत्याउने हुनसक्छ । यी दुवै ठाउंँ हत्याउन माओवादीलाई अशान्ति मच्चाउन उनीहरूका युवा दस्ता र पूर्वलडाकुहरू परिचालन गर्न बढी स्वतन्त्रता र दोष आफ्नो भागमा नपर्ने परिस्थिति चाहिएको छ । आफैले प्रधानमन्त्री चलाउँदा त्यस्तो अवसरको सिर्जना हुँदैन ।

यदि जातीयताको आधारमा राज्यहरू बाँडफाँंड भए भने संविधान घोषणा हुनु अघिपछि नेपालमा अशान्ति मच्चिने पक्कापक्की छ । विभिन्न जातजातिहरूले नेपालका भूभागमा परस्पर विरोधी दाबी गर्ने र आफ्ना दाबी अनुसारका माग पूरा गर्न हिंसा, लडाइँ-झगडा र मारामार गर्नेछन् । जातीय राज्य नभए जनजाति र मधेसीले आन्दोलन गर्नेछन् । केही यस्ता झगडा अहिले नै देखापरिसकेका छन् । सुदूर पश्चिमाञ्चल क्षेत्रमा थारूहरू कैलाली र कञ्चनपुरलाई थारूवानमा राख्नुपर्छ भनेर आन्दोलन गर्दैछन् भने अन्य जातिहरू सम्पूर्ण क्षेत्र अखण्ड राज्य हुनुपर्छ भनेर लडिरहेका छन् । लिम्बुहरूले कोशीपूर्वका ९ जिल्ला लिम्बुवानमा पर्नुपर्छ भनेर आन्दोलन सुरु गरेका छन् । जबकि ती जिल्लामध्ये ३ वटामा मात्र उनीहरूको बाहुल्य छ । अरूमा ३ जिल्लामा राईको बाहुल्य छ भने एउटामा बाहुनको, अर्कोमा पहाडीहरूको मिश्रणको र अझ अर्कोमा मधेसीको बाहुल्य छ । यस्ता परस्पर बिरोधी दाबीहरू अरू पनि थुप्रै अगाडि आउनेछन् । खम्बुवानले लिम्बुवानमा परेका ३ राईबाहुल्य जिल्ला माग गर्नेछ र राईहरूले यसलाई लिएर आन्दोलन गर्नेछन् । खम्बुवान र ताम्सालिङमा पर्ने सम्भावित ४ वटा छत्रीबाहुल्य जिल्ला खम्बुवान र ताम्सालिङ विरूद्धमा उत्रनेछन् ।

पहाडी बाहुल्य तराईका जिल्ला मधेसीविरूद्ध उत्रनेछन् भने बाहुन-छत्रीबाहुल्य जिल्ला जनजाति राज्यको विरोधमा खडा हुनेछन् । माओवादीहरूले यस्ता आन्दोलनबाट भरपुर फाइदा लिने प्रयास गर्नेछन् । सरकारको नेतृत्व नलिंदा उनीहरूलाई यस्ता आन्दोलन गराई वा तिनलाई सघाई नेपाली कांग्रेस नेतृत्वको सरकार र कांग्रेसलाई बदनाम गराउन सजिलो हुनेछ, जस्तो राजा महेन्द्रले १९६० मा शासन हत्याउनु अगाडि आफ्ना समर्थकहरू प्रयोग गरी वितण्डा मच्चाएर बीपी कोइरालाको सरकारलाई बदनाम गरेका थिए ।

माओवादीले हिंसाको लागि र हिंसा रोक्न नसकेको लागि कांग्रेस र एमालेलाई दोष लगाउनेछन् । सरकारले हिंसा रोक्न सुरक्षाबल प्रयोग गरेमा माओवादीले ठूलो होहल्ला गर्नेछन्, किनभने नेपाली कांग्रेसले नेतृत्व गरेको सरकारमा सुरक्षाबल संचालन गर्न गृह र रक्षा मन्त्रालयहरू नेपाली कांग्रेस वा एमाले मन्त्रीका मातहतमा रहनेछन् । माओवादीले आगामी चुनाव अगाडि नेपाली कांग्रेस र एमालेको समर्थन र शक्ति क्षीण गर्न आफूलाई देवदूतको रूपमा प्रस्तुत गर्न र सबै किसिमका गैरप्रजातान्त्रिक हत्कन्डा प्रयोग गर्न कुनै कसर बाँकी राख्ने छैनन् । यसरी सम्भवतः नेपाली कांग्रेस र एमाले आगामी चुनावमा सखाप हुनेछन् र माओवादीले शीतल निवास र सिंहदरबार दुवै हात पार्नेछन् । यदि राष्ट्रपतिको चुनावपछि संसदको चुनाव भयो भने त नेपाली कांग्रेस र एमालेको झन् नराम्रो हविगत हुनेछ ।

पुष्पकमल दाहाल राष्ट्रपति हुन अहिलेदेखि नै तयारी गरिरहेका छन् र उनलाई पछार्नसक्ने प्रतिद्वन्द्वी अझसम्म देखिएको छैन । उनले कार्यकारी राष्ट्रप्रमुख र सेनाका परमाधिपतिको हैसियतले संसदको चुनाव आफ्नो दलको पक्षमा पार्न कुनै कसर बाँकी राख्ने छैनन् । आश्चर्य नमान्नुपर्ने कुरा के छ भने नेपाली कांग्रेसमा दीर्घकालीन रणनीतिक सोचको नितान्त अभाव छ भने एमालेको अत्यधिक ढुलमुले सामरिक सोचले गर्दा विश्वसनीयताको पूर्णः अभाव छ । यसको एउटा स्पष्ट उदाहरण ५ बुँदे सम्झौता अन्तर्गत बाबुराम भट्टराईको बहुमतीय सरकारलाई अन्तरिम संविधानको प्रक्रिया नपुर्‍याइकन सहमतीय सरकारको रूप दिन आफ्ना सदस्यलाई मन्त्री बनाउन पठाउने हतार हो ।

नेपाली कांग्रेसले सत्ताको भोकले गर्दा सही प्रक्रियाको बाटो छोडेको छ । एमाले छोटो फाइदाका लागि दीर्घकालीन हित माया मार्न दलको रूपमा बदनाम भएको छ, तापनि यसले बहुमतीय सरकारलाई सहमतीय सरकार बनाउने प्रक्रिया नपुगेकोले अहिले सरकारमा नजाने संविधानसम्मत र उचित अडान लिएको छ । हेरौं यो अडान कति टिक्ने हो । जुन दलले यस्तो स्पष्ट संवैधानिक बाटो देख्दैन, त्यस्तो दलले माओवादीले उसलाई चुनावको ढलमा बगाइदिन कुनै रणनीति बनाएको भए त्यो नबुझ्नु स्वाभाविक नै हो । नेपाली कांग्रेसले आफ्नो गल्तीको मूल्य अवश्य चुकाउनु पर्नेछ । तर दुःखको कुरा के हुनेछ भने माओवादीहरूले पुरातन र असफल सर्वहारावादको ढाँचामा जबर्जस्ती ढालेर मुलुकलाई ठूलो हानि पुर्‍याउने अवसर पाउनेछन् । यस विषयमा गलत प्रमाणित भए म अत्यन्त खुसी हुनेछु ।

प्रकाशित मिति: २०६९ वैशाख २९ ०९:४३

http://www.ekantipur.com/nep/2069/1/29/full-story/347558.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s